Wednesday, June 3, 2015

१५ वर्षदेखि काठमाडौंमा ट्याक्सी थपिएनन्

काठमाडौ, जेष्ठ २० - यातायात व्यवसायीका चलखेलका कारण १५ वर्षयता काठमाडौं उपत्यकामा एउटा पनि ट्याक्सीको संख्या बढ्न सकेको छैन । सहरको महत्त्वपूर्ण यातायातको साधनका रूपमा रहेको ट्याक्सी २०५७ जेठ १७ यता नयाँ थपिएका छैनन् ।

Taxi in Kathmandu
त्यस बेला ट्क्यासी संख्या करिब साढे ७ हजार रहेकामा हाल ५ हजार ५ सयको संख्यामा झरेको सरकारी आँकडाले देखाउँछ । मन्त्रिपरिषद्को गत भदौ १९ को बैठकले राजधानीमा ट्याक्सीको संख्या थप्न कार्यदल गठन गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक संयोजक रहेको कार्यदलमा भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयका इन्जिनियर नवीनकुमार पोखरेल सदस्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सदस्य प्रतिनिधि र विभागकै निर्देशक सदस्य छन् ।
नयाँ ट्याक्सी थप्दा व्यवसायीहरूले सस्तो पाटपुर्जा र बढी माइलेज दिने ट्याक्सी मारुती अल्टो ८ सय सीसी नै ल्याउन सिफारिस गर्न कार्यदललाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिमार्फत दबाब दिइरहेका छन् ।
व्यवसायीले मन्त्रीमार्फत दबाब दिएर पुरानै खालको ८ सय सीसीको ट्याक्सी भित्र्याउन चाहिरहेका छन् । स्रोतले भन्यो, ‘पोखरामा अहिले एक हजार सीसीको ट्याक्सी गुड्छन् । काठमाडौंमा ८ सय सीसीको मात्र छन् ।’
यातायात व्यवसायी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिको रुचिका कारण कार्यदलको बैठक हालसम्म एकपटक मात्र बस्न सकेको स्रोत बताउँछ । व्यवसायीहरूसँग मिलेर मन्त्री निधिले उनीहरूकै चाहनाअनुसार निर्णय गर्न कार्यदललाई दबाब दिएका कारण कार्यदलको बैठक बस्न नसकेको स्रोतले उल्लेख गर्‍यो ।
सुविधा सम्पन्न र बढी सीसीका ट्याक्सी ल्याउन नदिई व्यवसायीले कार्टेलिङमा कम सिसीका सस्ता ट्याक्सी ल्याउन खोजेका हुन् । त्यसका लागि ट्याक्सी व्यवसायीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारी, वरिष्ठ उपाध्यक्ष डोलनाथ खनाल र सचिव सरोज सिटौलामार्फत सरकारी संयन्त्रलाई दबाब दिइरहेको स्रोतले जनाएको छ ।

No comments:

Post a Comment